
सिन्धुली। दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले प्रदर्शन गरेको छ ।
बुधवार एमालेको निकट राष्ट्रिय युवा संघ नेपालले नेकपा एमालेको पार्टी कार्यालय बाट सुरु गरेको मोटरसाईकल र्यालीले ढुंग्रेबास सम्म पुगेर सिन्धुलीमाढी बजार परिक्रमा गरे लोकतान्त्रिक चोकमा कोणसभामा परिणत भएको थियो ।
मुलुकलाई अस्थिरतातर्फ धकेल्न सरकारले जनघाती निर्णय गरेको भन्दै युवाहरुले प्रदर्शन गरेका हुन् । प्रर्दशनमा नेकपा एमाले जिन्दावाद, मापसे सरकार मुर्दावाद, दल विभाजनसम्बन्धी विधेयक खारेज गर जस्ता नारा लगाएर युवाहरुले विरोध प्रदर्शन गरेका थिए ।
बुधबार दलविभाजन सम्बन्धी अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नेकपा एमालेको माधवकुमार नेपाल समूहले निर्वाचन आयोग पुगेर नयाँ दल दर्ता गरेको छ ।
नयाँ दर्ता गरिएको दलको नाम नेकपा एमाले समाजवादी राखिएको छ भने, चुनाव चिन्ह खुल्ला किताब रहेको छ ।