
नेपालमा बेलायतमा देखिएको ‘नयाँ भेरियन्ट’ फैलँदो क्रममा रहेको पाइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बेलायती प्रजातिको भेरियन्ट फैलँदो क्रममा रहेको भन्दै बालबालिका उच्च जोखिममा रहेको जनाएको छ ।
बालबालिकामा कोरोना संक्रमणदर उच्च वृद्धि हुँदै गएकोसमेत पाइएको छ । केही दिनयताको तथ्यांकअनुसार दैनिक सङ्क्रमितमध्ये १० प्रतिशतसम्म बालबालिका छन् । यसमा पनि बेलायती भेरियन्ट देखिएको छ । कान्ति बाल अस्पतालका निर्देशक डा. आरपी विच्छाले बालबालिकामा संक्रमणदर बढेको प्रस्ट पारे । सो अस्पतालमा तीन सङ्क्रमित बालबालिका भर्ना भएका छन् ।
कोरोना जोखिम बढे पनि भौतिक उपस्थितिमै पठनपाठन हुँदा कतिपय विद्यालयले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको देखिएको छ । सङ्क्रमित बालबालिकामध्ये अधिकांशमा बेलायती भेरियन्ट देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार मंंगलबार प्राप्त रिपोर्टमा कुल केसमध्ये ४८ जना १९ वर्षमुनिका बालबालिकामा संक्रमण देखिएको छ । बुधवार कुल केसमध्ये ५२ जना १७ वर्षमुनिका बालबालिकामा सङ्क्रमित पाइएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।