
ब्राजिलका फुटबल बादसाह पेलेको पेटको शल्यक्रिया भएको छ ।
उनको पेटभित्र पलाएको ट्युमर शल्यक्रियामार्फत काटेर फालिएको हो । ८० वर्षीय पेले ६ दिनदेखि अस्पतालमा थिए ।
आफ्नो पेटभित्रको शंकास्पद घाउ फालेपछि अहिले विजय मनाइरहेको उनले बताएका छन् । ‘भाग्यवश मैले पनि तपाइँहरुसँगै ठूलो विजय मनाएको छु’ पेलेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अनुहारमा चमक, आशा र आनन्द बोकेर यो खेललाई मैले सामना गर्नेछु ।’ आफ्नो उपचारमा संलग्न सबै चिकित्सकलाई उनले धन्यवाद दिएका छन् ।
यसअघि पेले बिरामी परेको र उनी एक पटक बेहोस भएको भन्ने विवरणहरु सार्वजनिक भएका थिए । गत साता परिक्षणका क्रममा दाँया पेटको भित्री भागमा ट्युमर देखिएको उनले बताएका थिए । सन् २०२० को फेब्रुवरीमा पेलेका छोरा इडिनहोले बाबु राम्रोसँग हिड्न नसकेको र धेरै दिन बाहिर नगएको बताएका थिए ।
पेलेको स्वास्थ्यलाई लिएर पछिल्लो समयमा उनका प्रशंसकले चासो देखाउन थालेका छन् । सन् २०१५ मा उनको प्रोस्टेट सर्जरी भएको थियो । त्यसको ६ महिनापछि उनलाई फेरी अस्पताल भर्ना गरिएको थियो । त्यस्तै, सन् २०१९ मा उनलाई पिसाबको संक्रमण भएको थियो ।