
धादिङ। धादिङ अस्पतालले अत्याधुनिक अक्सिजन प्लान्ट संचालनमा ल्याएको छ ।
बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री प्रदीप कटुवालले आज एक कार्यक्रममा बिच प्लान्टको उद्घाटन गरेका हुन ।
सोही अवसरमा उनले अस्पतालमा थाइराइड चेक गर्ने मेसिनको पनि उद्घाटन गरेका छन् ।
मन्त्री कटुवालले धादिङ अस्पतालको भवन निर्माणको कामलाई पहिलो प्राथमिकता दिएर लाग्ने बताएका छन् ।
बागमती प्रदेश सरकारले उपलब्ध गराएको यो प्लान्टले प्रतिदिन ५० सिलिन्डर अक्सिजन भर्न सकिने अस्पतालले जनाएको छ ।
अस्पतालमा यसअघि प्रतिदिन २२ सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्ने प्लान्ट संचालन भइरहेको थियो ।
तर अहिले दैनिक ५० सिलिन्डर भर्न सक्ने प्लान्ट थपिएको हो । यससँगै अक्सिजनको आवश्यक परेका बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता हटेको छ ।
त्यसैगरी, धादिङ अस्पतालमा पिसिआर मेसिन जडान गर्ने तयारी भइरहेको अस्पतालका डा.त्रिभुवनचन्द्र झाले बताए ।