
मन्थली। गैरसरकारी संस्था महासंघ नेपाल रामेछापको कार्यालय नियमित नखुल्दा सेवाग्राही मारमा परेका छन् ।
विभिन्न संघ संस्था दर्ता तथा नविकरणका लागि फिारीस प्रदान गर्दै आएको गैसस महासंघ रामेछापका कार्यालय नियमित खुल्दैन । जसका कारण संस्था दर्ता तथा नविकरणका लागि सिफारीस लिन आउँने सेवाग्राहीहरु विना सिफारीस फर्कन बाध्य भएका छन् ।
कार्यालय नियमित रुपमा नखुल्दा आफुहरुलाई समस्या भएको रामेछाप नगरपालिका वडा नं ५ रामपुरका सेवाग्राही भिम बहादुर माझीले बताए । लिखुवेणी युवा क्लब रामपुरका अध्यक्ष रहेका माझीले भने, क्लब नविकरणका लागि सिफारीस लिन गैससको कार्यालयमा पुग्दा कार्यालय बन्द थियो, ढोकामा दुईवटा ताल्चा लगाइएको छ ।
गैससमासंघले नियमित सेवा दिन नक्दा आफु जस्ता धेरै सेवाग्राही सेवाबाट बन्चित हुनुपरेको उनको भनाई रहेको छ । सेवाका लागि गैरसरकारी सस्था महासंघ रामेछापका अध्यक्ष भुवन कुमार श्रेष्ठलाई फोन गर्दा रिसिभ नभएको उनको गुनासो छ ।
तर,गैरसरकारी सस्था महासंघ रामेछापले आफ्नो कार्यालय बन्द गरेर सेवाग्राहीहरुलाई करदाता सेवा कार्यालय मन्थली नजिकै रहेको गैसस महासंघका सह-सचिव गम्भीर विकको कम्पनीबाट सेवा दिने व्यवस्था मिलाएको बताइएको छ ।
जिल्ला प्रशासन कार्यालय रामेछापमा हालसम्म एक हजार २९३ वटा विभिन्न संघ संस्थाहरु दर्ता भएका छन् । जसमा अघिल्लो आर्थिक वर्ष २०७७÷०७८ मा २६० वटा संस्थाहरुले मात्रै नविकरण गराएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा छ ।