
सिन्धुली । नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष पुरुषोत्तम दाहालले तीनपाटन गाउँपालिकाको बिकासको लागि सामाजिक सक्रियता बढाउने बताएका छन्।
तीनपाटन गाउँपालिका वडा नं.१ बेलघारीमा भएको वडा स्तरीय मैत्रीपूर्ण भल्लिबल प्रतियोगिताको समापन समारोह लाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
उनले तीनपाटनको विकास र निकासका लागि आफूले गर्न सक्ने सहयोग गर्दै आएको र भोलिका दिनमा पनि गर्ने बताए । अब सिङ्गो तीनपाटन गाउँपालिकाको विकास र समृद्धिका लागि युवाको एकता बिना सम्भव नभएको भन्दै सबै युवा क्लबहरूले विकृति र विसङ्गतिको भण्डाफोर गर्न समेत उनले आग्रह गरे ।
अहिले तीनपाटन गाउँपालिकामा भएका नीति र विधि विपरीतका गतिविधिका बारेमा समाचार तथा सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी भएको भन्दै यस्ता विषयमा जिम्मेवार व्यक्तिहरूले जनतालाई यथार्थ जानकारी गराउनुपर्ने उनको भनाई रहेको छ।
साथै,सुनौलो युवा क्लबले वडा नं. १ सँगको साझेदारीमा मैत्रीपूर्ण वडा स्तरीय भलिबल प्रतियोगिता आयोजना गरेकोमा धन्यवाद दिँदै, संस्थापक समेत रहेका दाहालले क्लबलाई २५ हजार आर्थिक सहयोग गरे ।
बाहुनतिल्पुङ्ग युवा क्लब विजयी
घरेलु खेल मैदान वेलघारीमा भएको प्रतियोगितामा सुनौलो युवा क्लवलाई पछि पार्दै बाहुनतिल्पुङ्ग युवा क्लब ‘ए’ विजेता भएको हो । सुनौलो युवा क्लबको ‘ए’ समूह उपविजेता बनेको छ भने, बाहुनतिल्पुङ युवा क्लब ‘बि’ समूह तेस्रो भएको छ ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने समुहलाई शिल्ड, मेडल, र प्रमाण पत्र प्रदान गरिएको छ । प्रतियोगिताको विजेताले सेतो खसी, उपविजेताले रातो र तेस्रो हुने समूहले कालो खसी पुरस्कार पाएका छन् ।
साथै प्रतियोगितामा वेस्ट स्पाई कर जित बहादुर खड्का सुनौलो युवा क्लब बेलघारी, वेस्ट सेट्टर इस्वर दाहाल सुनौलो युबा क्लब, वेस्ट डिफेन्डर विवश पहाडी बाहुनतिल्पुङ युवा क्लब, वेस्ट ब्लकर बाहुनतिल्पुङ युवा क्लबको बि समूहका जीवराज श्रेष्ठ, वेस्ट प्लेयर बाहुनतिल्पुङ युवा क्लब ए का तारा तिमल्सिनालाई अवाड प्रदान गरिएको सुनौलो युबा क्लबका पोष्टराज भण्डारीले जानकारी दिए।
विजया दशमी तथा शुभ दीपावलीको अवसरमा तीनपाटन गाउँपालिका वडा नं. १ वेलघारीको आयोजना तथा सुनौलो युवा क्लब वेलघारीको सहयोगमा भलिबल प्रतियोगिता आयोजना गरिएको वडा अध्यक्ष गोबिन्द राउतले बताए ।