
सिन्धुली । सरकारले राष्ट्रिय गौरवको योजनाको रुपमा निर्माण गर्न खोजेको सुनकोसी–२ जलविद्युत आयोजना सञ्चालन गर्न नमिल्ने गोलञ्जोर गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष पुष्प बहादुर कार्कीले विद्युत विकास विभागलाई पत्र लेखी उक्त आयोजना सञ्चालन गर्न नमिल्ने बताएका छन् ।
उनले विभगलाई योजना सञ्चालन गर्न नमिल्ने ९ बुँदे आधारसहित पत्र लेखेको छ । गोलञ्जोर गाउँपालिका वडा नम्बर १ को च्याकुटारबेँसीमा उक्त आयोजनाको ड्याम निर्माण गर्ने सर्वे भएको छ । ९७८ मेगावाट क्षमताको यो आयोजना सिन्धुली र रामेछाप बढी प्रभावित क्षेत्रमा पर्छ ।
योजना गर्न नमिल्ने अध्यक्ष कार्कीको ९ बुँदा
१. सुनकोसी–२ आयोजना सञ्चालन गर्दा यस गाउँपालिका हुँदै मध्यपहाडी राजमार्ग सञ्चालन भएकोले सो मार्गको अस्तित्व समाप्त हुने भएकाले सञ्चालन गर्न नमिल्ने देखिन्छ ।
२. सुनकोसी–२ आयोजना सञ्चालन हुँदा यस गाउँपालिका हुँदै वि.पी राजमार्ग पनि सञ्चालन भएकाले यो आयोजना सञ्चालन गर्न नमिल्ने देखिन्छ ।
३. यस गाउँपालिका वडा न.१,२,३, ६ र ७ वडाहरु गढतिर वेल्टको सम्म जमिन भएको वडा जुन यस गाउँपालिकाको अन्न भण्डार भएकोले गाउँपालिकाको खेती योग्य जमिन नहरने अस्तित्व समाप्त हुने भएकाले यो योजना सञ्चालन गर्न नसकिने देखिन्छ ।
४.सुनकोसी–२ विद्युत आयोजनाले यस गाउँपालिकाको ऐतिहासिक, सास्कृतिक, धार्मिक सम्पदा तथा मठमन्दिर लगायत सम्पदाहरु नष्ट गर्ने भएकाले सञ्चालन गर्न नसकिने देखिन्छ ।
५.नेपालको १० नमुना साना सहर क्षेत्र पनि यसै गाउँपालिका वडा नम्बर ७ खुर्कोटमा रहेको सो साना सहरको अरबौँको भौतिक संरचना तथा स्वारुप नष्ट हुने भएकाले सञ्चालन गर्न नसकिने देखिन्छ ।
६. यस गाउँपालिकाको आय आर्जन बजार क्षेत्र सो आयोजनाको प्रभावित क्षेत्रमा पर्ने भएकाले तथा आम गाउँपालिका बासीको सम्पूर्ण अवसर गुम्ने भएकाले सञ्चालन गर्न नसकिने देखिन्छ ।
७.आयोजना स्थलमा वातावरण प्रभाव मुल्यांकनको समयमा नै आम असहमति भएकाले सो आयोजना सञ्चालन गर्न नसकिने देखिन्छ ।
८.यस गाउँपालिका क्षेत्रको मौलिक उत्पादन, रैथानेवाली तथा एग्रो टुरिजम जस्ता सम्पूर्ण ग्रामिण पर्यटन पर्यापर्यटन संभावना समाप्त हुने भएकाले सञ्चालन गर्न नसकिने देखिन्छ ।
९. यस आयोजना सञ्चालन हुँदा १६० मिटरसम्म गाउँपालिकाको बस्ती तथा जमिन डुबान हुने भएकाले गाउँपालिकाकै अस्तित्व समाप्त हुने भएकोले आफ्नो अस्तित्व समाप्त गरि दुनियाँको कुनैपनि सरकारले यस्ता प्रकृतिका आयोजना संचालन गरेको वा संचालन हुन दिएको नदेखिएको वा नपाईएकोले तत् निकायलाई सुनकोसी२ आयोजना सञ्चालन हुन नसक्ने व्यहोरा जानकारी साथ सादर अनुरोध गरिन्छ ।