
नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ।
केन्द्रीय तथ्याङ्क विभागले बुधबार नेपालको जनगणना २०७८ को प्रारम्भिक नतीजा सार्वजनिक गरेको हो।
यसअघि २०६८ सालमा गरिएको जनगणनामा नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो। विभागका अनुसार यस पटक जनसंख्या वृद्धिदर पनि घटेको छ।
अहिले जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत रहेको छ। २०६८ साल जनगणनामा जनसंख्या वृद्धिदर १.३५ प्रतिशत रहेको थियो।
यो जनगणनाअनुसार, नेपालको जनसंख्या वृद्धिदर ८० वर्षयताकै कम हो। यसअघि १९९८ सालमा नेपालको जनसंख्या वृद्धिदर १.२७ प्रतिशत थियो।