
वाग्मती प्रदेश सांसद हिमाली गोलेले आफैले मतदान गरेको तस्बिर खिचेपछि हेटौंडा–८ स्थित औद्योगिक क्षेत्रमा भइरहेको राष्ट्रिय सभा चुनावमा तनाव सिर्जना भएको छ ।
दोलखाबाट माओवादीकी समानुपातिक सांसद रहेकी लामाले मतदान गरेको तस्बिर खिचेपछि प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठबीच केहीबेर भनाभनको अवस्था उत्पन्न भएको हो ।
प्रमुख निर्वाचन अधिकृत श्रेष्ठले सांसद लामालाई उक्त तस्बिर हटाउन आग्रह गरेका थिए । त्यसपछि मतदानका क्रममै रहेका माओवादीका अर्का सांसद राजकाजी महर्जन श्रेष्ठ र राजन दाहाल सँग भनाभन गर्न पुगेका हुन् । श्रेष्ठ ललितपुर क्षेत्र नम्बर ३ (क) र दाहाल सिन्धुली क्षेत्र नं १ (क) बाट निर्वाचित सांसद हुन् । सांसद लामाले यसअघिको राष्ट्रिय सभा चुनावमा मतदान गरेकी थिइनन् ।
हेटौंडा औद्योगित क्षेत्रमा बिहान ९ बजेदेखि मतदान सुरु भएको थियो । निर्वाचन प्रक्रिया दिउँसो ३ बजे सम्म हुनेछ । ४ बजेपछि मतगणना सुरु गर्ने र ७ बजेभित्र अन्तिम नतिजा सार्वजनिक गर्ने गरी तयारी रहेको प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ ।
बागमती प्रदेशमा रिक्त रहेको दुई सदस्य पदमा ६ जनाको उम्मेद्वारी रहेको छ । सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा एकीकृत समाजवादीकी गोमा तिमल्सिना चुनावी प्रतिस्पर्धामा रहेका छन् भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाट गोपाल शाक्य र निरकुमारी कुँवर दर्लामीको उम्मेद्वारी रहेको छ ।
यसैगरि,नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तर्फबाट कृष्ण तामाङ र गिता काफ्ले चुनावी मैदानमा छन्।
निर्वाचनमा बागमती प्रदेशसभा सदस्य १ सय ९ जना र प्रदेश अन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४७ जनाले मतदान गर्न पाउने छन् ।