
सिन्धुलीमा विद्यालय जाने विद्यार्थी तथा १२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोना विरुद्धको खोप अभियान सुरु गरिएको छ । जिल्लाका ३५ हजारभन्दा बढी बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने उद्देश्यसहित अभियान सुरु गरिएको स्वास्थ्य कार्यालयका प्रमुख राजन प्रसाद पोख्रेलले बताए ।
जिल्लाका ९ पालिकामा रहेका स्वास्थ्यचौकी सहित २५० भन्दा बढी विद्यार्थी भएका विद्यालयमा खोप केन्द्र सञ्चालन गरेर खोप दिन थालिएको र त्योभन्दा कम सङ्ख्या भएका विद्यालयको हकमा भने नजिकैको अर्को विद्यालयमा खोप केन्द्र सञ्चालन गरिएको कार्यालयका प्रमुख पोख्रेलले जानकारी दिए ।
यसअघि, खोप नहुँदा अबरुद्ध बनेको खोप अभियान संचालन गर्न लागिएको स्वास्थ्य कार्यालय सिन्धुलीले जानकारी दिएको छ । सिन्धुलीका बालबालिकालाई ३५ हजार डोज अमेरिकन कम्पनीको ‘मोडर्ना’ खोप लगाउने स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ
।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गएको १० गते सूचना निकालेर माघ १५ देखि २० गतेसम्म विद्यार्थीहरूलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको थियो । मन्त्रालयले खोप लगाएको सुनिश्चित गरेपछि विद्यालयमा पठनपाठन र परीक्षाहरू सञ्चालन गर्ने तयारी गरेको छ ।