
सिन्धुलीमाढी । स्थानीय तहको निर्वाचन माग गर्दै सिन्धुलीका क्याम्पसहरुमा ‘कालो ब्यानर’ टाँगिएको छ ।
नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सिन्धुलीले स्थानीय तहको निर्वाचनको माग गर्दै कालो ‘कालो ब्यानर’ टाँगेको हो ।
अनेरास्ववियुले सिन्धुली बहुमुखि क्याम्पस ढुंग्रेबास,सिद्धज्योति शिक्षा क्याम्पस फोस्रेटार र गौमति बहुमुखी क्याम्पसको गेटमा ‘कालो ब्यानर’ टाँगेको हो ।

ब्यानरमा ‘स्थानीय तहको निर्वाचन तुरुन्त गर,संविधान र लोकतन्त्रको रक्षा गर ।’ लेखिएको छ ।
यसअघि,अनेरास्ववियु सिन्धुलीले जिल्ला प्रशासन कार्यलय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर आगामी बैशाखमै स्थानीय तहको निर्वाचन गर्न माग गरेको थियो । भने,महँगी नियन्त्रणलगायतका मागसहित ती संगठनहरुले आइतबार साँझ सिन्धुलीमाढीमा राँके जुलुस निकालेकाे थियो ।
नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन सरकारले स्थानीय तहको निर्वाचन सार्ने तयारी गरिरहेको अवस्थामा देशभर विरोध प्रदर्शनको कार्यक्रमहरु भईरहेको छ ।