स्वार्थको घेराभित्र सिन्धुलीको गठबन्धन



सत्तारुढ पाँच दलका नेताहरु बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर एमाले विरुद्ध चुनाव लड्न यतिवेला व्यापक छलफलमा केन्द्रित छन् । गठबन्धन गर्न सहमतिका लागि दिनहु जस्तो जिल्ला स्तरमा र पालिका स्तरमा औपचारिक अनौपचारिक बैठकहरु बस्ने भएपनि ठोस निर्णय भने हाल सम्म केहिपनि निस्कन सकेको छैन । बरु नेताहरुका व्यक्तिगत देखि पारिवारीक स्वार्थ भने छताछुल्ल हुने गरेको पाईन्छ ।

माओवादीलाई आफू कमजोर भएको कमलामाई नगरपालिका, तीनपाटन र फिक्कल गाउँपालिकामा गठबन्धन गर्न कुनैपनि आपत्ति छैन । कांग्रेसले उपप्रमुख दिएमा केहि वडाहरु लिएर छाडिदिन माओवादी राजी छ । तर गठबन्धनको मुख्य सकस जिल्लाको दुधौली नगरपालिका र सुनकोशी गाउँपालिकामा देखिन्छ । नेपाली कांग्रेसका सभापति उपेन्द्र पोखरेल कमलामाईमा माओवादीले आफूलाई सघाउने भए दुधौली नगरपालिका र सुनकोशी गाउँपालिका छाडिदिन तयार छन् । तर पोखरेलले आफै उठ्न तयारी गरेको कमलामाई आफूले पाउँदा कांग्रेसले प्राविधिक कारणले मात्र २०७४ को चुनाव हारेको दुधौली र सुनकोशि दुईवटा पालिका छाड्न कांग्रेसका उमेदबारहरु तयार छैनन् । अझ देउवा पक्षको नेतृत्व गर्दै आरजु राणा सँग सिधा सम्बन्ध भएकी नेपाली कांग्रेस नेतृ गंगा दाहाल उमेदबार हुने अघिल्लो निर्वाचनमा ६०० मतले हारेको दुधौली नगरपालिका माओवादीलाई जिम्मा लगाएर २८ सय मतले हारेको कमलामाई नगरपालिका लिने पार्टी सभापतिको स्वार्थपूर्ण निर्णय कांग्रेसकै देउवा नेतृत्वको समुहले मान्ने वाला छैन । यता, सुनकोशी गाउँपालिकामा माओवादी केन्द्रका जिल्ला इन्चार्ज राजन दाहाल र पालिका इन्चार्ज दिपा बोहोराको स्वार्थ सँग जोडिएको पालिका माओवादीलाई दिने पक्षमा कांग्रेस छैन । २ सय मतको झिनो अन्तरले हार भएको सुनकोशी यो पटक माओवादीलाई कुनैपनि हालतमा जित्न नदिन एमाले र कांग्रेसले अघोषित समिकरण पूरा गरिसकेको अवस्थामा पाँच वर्ष ज्याजती पूर्ण व्यवहार सहित शासन चलाएकी माओवादी नेतृ दिपा बोहोरा (दाहाल) लाई पुन अध्यक्ष दोहो¥याउने गरि त्यहाको कांग्रेसले भोट हाल्ने वाला नै छैन । यसको प्रष्ट संकेत शनिबार नेपाली कांग्रेसको सुनकोशी पालिका कमिटिले औपचारिक निर्णय नै गरेर दिई सकेको छ । कांग्रेसका सातै वटा वडाका सभापतिहरूको संयुक्त बैठकले माओवादीसँग चुनावी तालमेल र गठबन्धन नगर्ने निर्णय गरेको छ ।

आगामी निर्वाचनमा केन्द्रिय तहदेखि प्रदेश, जिल्ला र स्थानीय तहमा सत्तारुढ गठबन्धन गर्ने निर्णय गरेको भए पनि सुनकोशी गाउँपालिकाका सबै वडाहरू त्यसको पक्षमा नरहेकाले एकल रुपमा जाने निर्णय गरे सँगै सत्तारुढ गठबन्धनको भविष्य अन्योलमा परेको आंकालन गर्न सकिन्छ ।
यदि गठबन्धन गरेर नेपाली कांग्रेसले त्यहाँ उमेदबार न उठाएर माओवादीलाई सघायो भने सुनकोशीमा एमालेलाई चिठ्ठा पर्ने निश्चित छ । त्यसैले पनि एमालेको टिकटका लागि सुनकोशीमा ठूलो हानाथाप सुरु भएको छ ।

कांग्रेसका सभापति उपेन्द्र पोखरेल आफू कमलामाई नगरको मेयर हुन माओवादीलाई दुधौली र सुनकोशी जिम्मा लगाउन तयार हुनु र माओवादी त्यो स्वीकारेर अगाडि बड्न तयार हुनुमा पारिवारीक देखि राजनीतिक कारणहरु छन् । दुधौली नगरपालिकामा माओवादीका जिल्ला इन्चार्ज राजन दाहालका स्वकीय सचिव दिनेश अधिकारी दनुवार उमेदबार बन्दै छन् भने सनुकोशीमा पालिका इन्चार्ज समेत रहेकी आफ्नै श्रीमती दिपा बोहोरा दाहाल दोस्रो पटक असहज परिस्थितिका विच पालिका अध्यक्षको शासन सत्तालाई निरन्तरता दिने कसरतमा छिन् । त्यसैले पनि कांग्रेस र माओवादीका प्रमुख नेताहरुको स्वार्थ मिलेका कारण गबन्धनका लागि अप्राकृतिक कसरतहरु व्यापक रुपमा भईरहेका छन् ।

तर नेताको स्वार्थले अन्य पालिकाहरुमा भने भद्रगोल सृजना गरिदिने देखिन्छ । गोलन्जोर गाउँपालिकामा माओवादी नेताहरु कुनैपनि हालतमा कांग्रेससँग मिल्न नहुने पक्षमा छन् । त्यहा बरु एमालेलाई अध्यक्ष स्वाीकार गरेर उपाध्यक्षमा चित्त बुझाउने तर कांग्रेसलाई कुनैपनि हालतमा स्वीकार नगर्ने माओवादीका स्थानीय नेताको अडान रहेको पाईन्छ । अझ माओवादी नेता ज्वाला प्रसाद न्यौपाने पुकारको त जसरी पनि आफै एमालेको समर्थनमा पालिका अध्यक्ष हुने कसरतमा छन् । बर्तमान पालिका अध्यक्ष पुष्प कार्कीबाट सबैभन्दा बढि पेलाई खाएका पुकार आफू नभएपनि कार्कीलाई कुनैपनि हालतमा अध्यक्ष बन्न नदिने एमालेले तय गरिसकेका उमेदबार शंकर बराललाई अध्यक्ष स्वीकारेर माओवादीलाई उपाध्यक्ष सहित केहि वडा लिन अग्रसर छन् ।

गठबन्धनको अर्को सकस माओवादीको गढ मानिएको मरिण क्षेत्रका दुई पालिका मरिण र हरिहरपुरगढीमा छ । हरिहरपुरगढीमा अवस्था सामान्य रहेपनि मरिणको अहिलेको अवस्था अत्यन्तै असामान्य रहेको छ । त्यहा माओवादी भित्रको अन्र्तरविरोध यस्तो नराम्रो सँगले झागिएको छ की माओवादी भित्र एक समूहले टिकट पाए अर्को समूहले स्वीकार्दै नस्वीकार्ने अवस्था छ । एक छत्र जितेको मरिणमा अहिले टिकट पाउनु नै जित्नु हो भन्ने शैलिमा माओवादी भित्र टिकट हात पार्न पूर्व जनमोर्चा र माओवादी खेमा विच दाउपेच सुरु भएको छ र यो दाउपेचले विपक्षि दल एमाले र कांग्रेसलाई उत्साहित बनाएको छ । माओवादी भित्रकै आकांक्षिहरुलाई सम्हाल्न नसकेर एमाले र कांग्रेस प्रवेशको लहर चलिरहेको छ । यो अवस्थामा उपाध्यक्ष सहित केहि वडा कांग्रेसलाई दिनु पर्ने गरि गठबन्धनमा सामेल हुनुपर्ने वाध्यताले मरिण क्षेत्रमा थप अर्को समस्या सृजना गर्ने छ ।
हरिहरपुरगढीमा पनि गठबन्धनको अवस्था त्यस्तै छ । एमालेले हरिहरपुरगढी र मरिण दुवैमा अध्यक्षका उमेदबार टुङ्ग्याई सकेको छ । उपाध्यक्ष सहित केहि वडा लिएर माओवादी विरुद्ध भिड्न एमाले र कांग्रेस विच पनि त्यहा कसरत भईरहेको छ । पार्टीका केन्द्रिय नेतृत्वले गठबन्धन बाहिर तालमेल गर्न नपाईने निर्णंय गरेको भएपनि मरिण र हरिहरपुरगढीमा एमाले र कांग्रेसले अघोषित तालमेल गरेभने अन्यथा नलिदा हुने देखिन्छ ।

त्यसैगरी माओवादी अत्यन्तै कमजोर भएको फिक्कल गाउँपालिकामा माओवादीले केहि वडा लिएर कांग्रेसलाई समर्थन गर्न कुनै आपत्ति छैन । तीनपाटनको अवस्था पनि लगभग त्यहि हो । भने घ्याङलेख अघिल्लो निर्वाचनमा कांग्रेसले जितेकाले त्यहा माओवादीलाई छाड्ने सम्भावना हुदैन । तर माओवादीको पनि राम्रो मत भएकाले माओवादीलाई पनि पालिका उपाध्यक्षमा चित्त बुझाउन मुश्किल पर्ने देखिन्छ । समग्रमा जिल्लामा बरावरी हैसितमा रहेका तीन दल र अघिल्लो निर्वाचनमा तीन तीनवटा पालिका जितेका कारण पनि शक्ति सन्तुलन मिलाउन मुश्किल पर्ने देखिन्छ । नेपाली कांग्रेसले एक्लै ७ पालिका जित्न सक्ने भन्दै माओवादीलाई उसले जितेका साविकका ३ र बढिमा दुधौली नगरपालिका मात्र दिन प्रयास गरिरहेको छ भने माओवादी केन्द्र ५ पालिकामा जित निकाल्न सक्ने भन्दै आफ्नै अडानमा कायम रहेको छ । यस्तो अवस्थामा बरावर मत भएको दुधौली नगर त्याग्नु नै कांग्रेसका लागि चुनौतिको विषय छ भने आफ्नो एक छत्र राज भएको मरिण र हरिहरपुरगढीमा कांग्रेसलाई प्रवेश गराउनु माओवादीका लागि दिर्घकालिन घाटाको सम्झौता हुने छ । माओवादीका लागि कमलामाई नगरमा उप प्रमुख सहित केहि वडाहरु लिएर कांग्रेसलाई सघाउनु र मरिणमा उपाध्यक्ष सहित केहि वडा कांग्रेसलाई सुम्पनुमा दिर्घकालमा निकै ठूलो असर पर्ने देखिन्छ । आफ्नो भोट बैङ्कमा कांग्रेस प्रवेश गराउने र धेरै भोट भएको कमलामाई नगरका ८० प्रतिशत वडाहरुमा पाटीको उमेदबार नै खडा नगरि कांग्रेसलाई सघाउने निर्णय माओवादीले गरेमा आगामी संसदीय निर्वाचनमा प्रचण्ड समेत आउन सक्ने भनिएको सिन्धुली क्षेत्र नं. २ मा माओवादीको हार सुनिश्चित जस्तै हुने देखिन्छ । माओवादी नेताहरुको नजरमा अहिले एमाले हराउन गठबन्धन उपयुक्त लागेपनि संसदीय निर्वाचन जित्नका लागि भने अहिलेको गठबन्धनले ठूलो घाटा हुने विश्लेषण पनि हुन थालेको छ ।
गठबन्धनको यो भाडभैलोलाई नजिकबाट नियालीरहेको एमाले भने कांग्रेस र माओवादी विच अप्राकृतिक जर्वजस्त गठबन्धन बनिदिए अघिल्लो निर्वाचनमा हार व्यहोरेको सुनकोशी, गोलन्जोर, मरिण, हरिहरपुरगढी जस्ता पालिकामा समेत जित निकाल्न सहज हुने भन्दै उत्साहित भएर उमेदबार टुङ्ग्याउदै मैदानमा उत्रि सकेको अवस्था छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली। मानव अधिकार एलायन्स सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेल निर्दोष ब्यक्तिहरुलाई झुठ्ठा आश्वासनमा फसाइएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा अनशन बसेका

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२

नेपाली कांग्रेसबाट गोलन्जोर गाउँपालिकामा निर्वाचित भएका अध्यक्ष पुष्प कार्कीले पदको दुरुपयोग गर्दै आफ्नो पाँच वर्षे कार्यकालमा फूपूको नाति देखी पार्टीका