
माथिल्लो तामाकोसी आयोजनाको पूर्वाधारमा आधारित अर्को जलविद्युत् आयोजना तामाकोसी–५ निर्माणको तयारी भइरहेको छ ।
दोलखाको सुरी दोभानमा विद्युत्गृह रहने गरी ९९.५ मेगावाट क्षमताको यो क्यासकेड आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ ।
४५६ मेगावाटको माथिल्लो तामाकोसी को विद्युत् गृहबाट निस्किएको पानी आठ किलोमिटर लामो सुरुङबाट अर्को विद्युत् गृहमा पुर्याउने र त्यहाँबाट विद्युत् उत्पादन गर्ने योजनाअनुरूप नेपाल विद्युत् प्राधिकरणले यो आयोजना बनाउन लागेको हो । प्राधिकरणका कार्यकारी निर्देशक जितेन्द्रदेव शाक्यले तामाकोसी–५ जलविद्युत् कम्पनीमार्फत काम अगाडि बढाइरहेको जानकारी दिनुभयो ।
आयोजनाका लागि ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋण लगानी गर्ने गरी प्रस्ताव तयार गरिएको छ । ऋणका लागि स्वदेशी लगानीकर्ता कर्मचारी सञ्चय कोष र विदेशी लगानीकर्ता एसियाली पूर्वाधार लगानी बैङ्क (एआईआईबी)ले लगानी गर्न चासो देखाएका छन् ।
हेड वक्र्सको काम नहुने भएकाले आयोजनाको कुल लागत करिब १६ अर्ब रुपियाँ रहने बताइएको छ । आयोजनाका लागि छुट्टै बाँध बनाउनु पर्दैन । माथिल्लो तामाकोसी को टेलरेसबाट निस्केको पानीलाई ५.४ मिटर ब्यासको आठ किलोमिटर सुरुङबाट तामाकोसी–५ को भूमिगत विद्युत् गृहमा पु-याइनेछ ।