
नेकपा एमाले केन्द्रीय सल्लाहकार सदस्य केशब देवकोटाले हँसिया हथौडाको झण्डा बोकेर कम्युनिष्ट हुँ भन्नेहरुले कम्युनिष्ट आन्दोलन नै शेरबहादुर देउवाको पाउमा चढाउन खोजेको आरोप लगाएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधब नेपालप्रति लक्षित गर्दै नेता देवकटाले बुढानिलकण्डमा पुगेर कम्युनिष्ट आन्दोलन शेरबहादुरको पाउमा चढाउनेहरु कम्युनिष्ट हुन नसक्ने बताएका छन् ।
गोलन्जोर गाउँपालिका स्थित रतनचुरामा एमालेले आयोजना गरेको चुनावी सभामा बोल्दै उनले सत्ता गठबन्धन अपवित्र गठबन्धन भएको पनि दाबी गरे ।
उनले विकास, समृद्धि र राष्ट्रिय स्वाभिमान नै एमालेको मूल मुद्दा भएको पनि बताएका छन् ।‘सुखी नेपाली, समृद्ध नेपाल एमालेको मूल मुद्दा हो’ उनले भने, ‘लिपुलेक सम्झिँदा मान्छेले केपी ओली सम्झिन्छन्, कालापानी सम्झिँदा केपी ओली सम्झिन्छन्, धरहरा र रानीपोखरी देख्दा मानिसले केपी ओली सम्झिन्छन्, चीनसँगको पारबहन सन्धिको विषयमा केपी ओली सम्झिन्छन्, सुरुङमार्ग र सबै राष्ट्रिय गौरवका आयोजना सम्झिँदा केपी ओलीलाई सम्झिन्छन्, त्यसकारण विकास, समृद्धि र राष्ट्रियता एमालेको मूल मुद्दा हो ।’
एक प्रशंगमा नेता देवकोटाले माओवादी विघटनको संघारमा रहेको पनि दाबी गरेका छन् ।‘माओवादी विघटन हुँदैछ, एक्लै लडेर चुनाव जित्न नसक्ने भएपछि माओवादी अहिले अस्तित्व जोगाउने ध्याउन्नमा छ’ उनले भने, ‘माओवादीले अस्तित्व जोगाउनकै लागि अहिले काँग्रेसको पुच्छर समाईरहेको छ ।’