
सिन्धुली। गत २०७८ साल फाल्गुण २३ गते वि.पि. राजमार्गमा मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका पत्रकार अन्जन रानालाई नेश्नल लाईफ इन्सुरेन्स कम्पनीले बुधबार ७ लाख रुपैया विमा दावि भुक्तानीको चेक हस्तान्तरण गरेको छ ।
रानाले २०७८ असार २५ गते छोरी आर्या रानामगरको ७ लाख बरावरको बाल अमृत सावधिक जीवनविमा –१ नामको पोलिसि खरिद गरि पहिलो किस्ता वापत ३७ हजार ८६ रुपैया भुक्तानी गरेका थिए । नाबालक छोरीको विमा गर्दा संरक्षकमा आफै बसेका बुवा रानाको समाचार संकलनको क्रममा वि.पि. राजमार्गको ढुङ्ग्रे भञ्ज्याङमा मोटरसाईकल दुर्घटनामा परि मृत्यु भएपछि कम्पनीले विमा दावी भुक्तानीका लागि कागजपत्रहरु केन्द्रिय कार्यालय पठाएको दावि स्वीकृत भई आएर बुधबार भुक्तानी गरिएको नेश्नल लाईफ इन्सुरेन्स कम्पनीले लि. सिन्धुली शाखाका शाखा प्रमुख केशव श्रेष्ठले बताउनु भयो ।
श्रेष्ठका अनुसार आर्या रानाको बाल अमृत सावधिक जीवन विमा–१ पोलिसिको २० वर्षे शर्त अनुसार अब बार्षिक रुपमा तिर्नु पर्ने ३७ हजार ८६ रुपैया किस्ता पुरै मिनाहा हुने छ भने पोलिसिको सर्त अनुसार १८ औं वर्षमा १ लाख ७५ हजार, १९ औ वर्षमा १ लाख ७५ हजार, २० औं वर्षमा ३ लाख पचास हजार र नियम अनुसार पाउने बोनस रकम प्राप्त हुने छ ।
अहिलेको बोनस रेटमा बोनस रकम करिव ९ लाख रुपैया हुने बताईएको छ । ३७ हजार रुपैयमा गरिएको विमाले रानाको परिवारलाई ठूलो आर्थिक सहयोग गरेको भन्दै इन्सुरेन्स कम्पनीका शाखा प्रमुख श्रेष्ठले बचत र जोखिम बहन दुवै दृष्टिले आफ्नो बार्षिक आय र क्षमता अनुसारको जीवन विमा गर्नुपर्ने बताउनु भयो