
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य पदको उपचुनावका लागि दल दर्ता गर्न आग्रह गरेको छ ।
आउँदो जेठ ६ गते राष्ट्रिय सभा सदस्यको रिक्त रहेको एक पदका लागि उपचुनाव हुँदै छ ।
संविधानको धारा २७१ अनुसार आउँदो जेठ ६ गते हुने उपचुनावका लागि दल दर्ता गर्न आयोगले आग्रह गरेको हो ।
आयोगले वैशाख १४ गतेसम्म दल दर्ता गर्ने म्याद तोकेको छ । वाग्मती प्रदेशमा रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि उपचुनाव हुन लागेको हो ।
राष्ट्रियसभा सदस्य निर्वाचन ऐनअनुसार कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले पद रिक्त भएको ३५ दिनभित्र सरकारले तोकेको मितिमा उपचुनावद्वारा पूर्ति गरिने व्यवस्था छ ।
नेकपा माओवादी केन्द्रबाट २०७४ को चुनावमा निर्वाचित रामबहादुर थापाले दल त्याग गरेको भन्दै माओवादी केन्द्रले पद रिक्त गरिदिन सिफारिस गरेपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद रिक्त गरेका थिए । सोही रिक्त पदका लागि उपचुनाव हुन लागेको हो ।