
सिन्धुली । मदन भण्डारी राजमार्ग सिन्धुलीको सिन्धुलीमाढी खण्ड अन्तर्गत खट्टार देखि बिपी राजमार्ग सम्मको सडक खण्ड अन्ततः अब धुरा बजार बाट बसपार्क हुँदै अघि बढ्ने भएको छ ।
स्थानीय विवादका कारण सडकको स्तरोन्नति गर्न अवरोध हुँदै आएको सडक मापदण्ड अनुसार ११ मिटर फराकिलो बनाउँदै स्तर उन्नति गरेर समस्या समाधान गर्न लागिएको हो ।
सिन्धुलीका प्रदेश सांसद विनोद खडकाका अनुसार खट्टार देखि बिपी राजमार्ग सम्म बाइपास सडक बनाउन पनि आग्रह गर्ने निर्णय भएको हो । आजको बैठकले ग्वाङ्ग खोलामा तत्काल पुल बनाउन समेत पहल गरिने निर्णय भएको उनको भनाई छ ।
खडकाका अनुसार धुरा बजार र बसपार्क जोडने ठाउँमा उक्त नयाँ पुल बन्नेछ । यसले प्रस्ट रूपमा उक्त सडक धुरा बजार बाट नै जाने सङ्केत गरेको छ । उक्त राजमार्गका कारण धुरा बजार नै हटाउनु पर्ने हो कि भन्ने चिन्ता स्थानीयमा रहिरहँदा अब भने स्थानीयलाई केही राहत मिल्ने देखिन्छ ।
सडक ११ मिटर मात्रै फराकिलो बनाउँदा अहिले धुरा बजार एरियामा चालु अवस्थामा रहेको सडकलाई खासै परिवर्तन गर्नु नपर्ने स्थानीयको भनाई छ । केही समय पहिला सिन्धुलीमा प्रधानमन्त्री केपी शर्मा ओली ले सुनकोसी मरिन डाइभर्शन उद्घाटन गर्न आउँदा सहर बन्दै गएका बस्तीलाई जोगाएर सडकको एलायमेन्ट परिवर्तन गर्न सकिने आश्वासन दिएका थिए ।
प्रधानमन्त्रीको आश्वासनपछि खुसी भएका स्थानीयलाई राहत दिने उद्देश्य राखेर सिन्धुलीबाट जितेका जनप्रतिनिधि हरुले यो सडकलाई ११ मिटर फराकिलो बनाउँदै बाइपासका रूपमा समेत उपयोग गर्न सकिने भएको बताइएको छ ।
आइतबार सिन्धुलीमा बसेको प्रमुख जिल्ला अधिकारी सहितको बैठकले बाइपास सडक निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको हो । ग्वाङखोला पुलको निर्माण कार्य निर्धारित स्थानमा तत्काल अगाडि बढाउने निर्णय समेत गरेको खडकाले बताए ।
बैठकमा सिन्धुलीका प्रतिनिधि सभाका सदस्य हरिबोल गजुरेल र प्रदेश सांसद विनोद खडका सहित सडकका महानिर्देशक अर्जुन जङ्ग थापा लगायत उपस्थित थिए ।
त्यस्तै बैठकमा मदन भण्डारी आयोजना निर्देशनालयका निर्देशक उमेश बिन्दु श्रेष्ठ, योजना प्रमुख राजेन्द्र दास, सिइयो नातिबाबु खडका र इन्जिनियर शिव सरण तिमिल्सिनाको पनि उपस्थित रहेको थियो ।