
विश्वव्यापी महामारीको रूपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको सङ्क्रमण जिल्लाका विभिन्न स्थानमा फैलिसकेको र थप फैलिन नदिनका लागि सिन्धुलीमाढी बजार सहित सिन्धुलीका ५ स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ ।
जिल्लाको सदरमुकाम समेत रहेको कमलामाई नगरपालिकामा बुधवार राती १२ बजे बाट वैशाख २९ गते राती १२ बजे सम्मको लागी निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने ले जानकारी दिए ।
यसअघि नै दुधौली नगरपालिका ,गोलन्जोर गाउँपालिका घ्याङलेक गाउँपालिका र सुनकोसी गाउँपालिका ले लकडाउन गरिसकेका छन ।
भने तीनपाटन गाउँपालिकाले आंशिक लकडाउन जारी गरेको छ । तीनपाटन गाउँपालिकाले वडा न. ५ को लङ्गुर खोला र वडा न.को भिमस्थानमा लकडाउन गरिएको छ ।
अन्य पालिकाहरू आफैले लकडाउन जारी गरेका थिए भने कमलामाई नगरपालिकामा भने जिल्ला प्रशासन कार्यालयले नै निषेधाज्ञा जारी गरेको हो ।
पालिकाहरूले निषेधाज्ञाको समयमा एम्बुलेन्स, शव बाहान, खाद्यान्न, औषधी,पशुपन्छीको दाना,कुखुरा,पानी, दूध, इन्धन, फलफूल तथा तरकारी बोकेको सवारी साधन, निमार्ण सामग्री ढुवानीका सवारी चल्न दिइने निर्णय गरिएको छ ।
नेपाल सरकारका कर्मचारी, बैक तथा वित्तीय संस्थाका कर्मचारी, सार्वजनिक संस्थाका कर्मचारीहरूको हकमा कार्यालयले जारी गरेको परिचयपत्र लगाएर हिँड्ने कर्मचारी सवार भएका सवारी साधन चल्न दिइने छ ।
यता विवाहमा बेहुला बेहुली सवार सवारीमा बढीमा १५ जना जन्ति बोकेको सवारीलाई प्रवेश दिइने छ । सामाजिक सङ्घ सस्थाका कार्य तथा सेवाहरू पूर्ण रूपमा बन्द रहने छ ।
त्यसै गरी औषधीजन्य पसल २४ सै घण्टा खुल्ला रहने छ भने, पेट्रोल पम्प, खाद्यान्न, फलफूल, तरकारी, दूध डेरी, ग्याँस पसल बिहान ७ बजे देखि १०बजे सम्म मात्र सञ्चालन गर्न पाइने छ ।