
सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका ले अक्सिजन र चिकित्सक सहित आइसोलेसन सञ्चालनमा ल्याएको छ।
गाउँपालिका क्षेत्र भित्र कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र अस्पतालसँगको दूरी टाढा भएकाले वडा नं ४ खाङसाङमा रहेको सुनकोशी माध्यमिक विद्यालयमा अक्सिजनसहितको १० वटा आइसोलेसन बेड तयार गरेको हो।
गाउँपालिकाले आफ्नै प्रयासमा अक्सिजन र नर्सिङ सेवा सहितको मङ्गलवार देखि आइसोलेसन बेड सञ्चालनमा ल्याएको गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारले सिन्धुली दर्पण सँग बताइन ।
उपाध्यक्ष सुनुवारको अनुसार नयाँ भेरियन्ट सहितको कोरोनाको दोस्रो लहरको सङ्क्रमण गाउँ गाउँसम्म फैलिएकाले अक्सिजन र चिकित्सकीय सुविधा सहित गाउँपालिकाले आफ्नै लगानीमा आइसोलेसन सञ्चालनमा ल्याएको हो ।
त्यस्तै, उपाध्यक्ष सुनुवारले गाउँपालिकाभित्र केही सर्वसाधारणमा कोरोना सङ्क्रमण पुष्टि भए पनि लक्षणसहितको सङ्क्रमितको सङ्ख्या कम भएकाले सङ्क्रमितहरूलाई उच्च मनोबल कायम राख्न र जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेकी छिन।
यस अघि सिन्धुली सदरमुकाम बाहिर तीनपाटन गाउँपालिकाले ५ बेड र दुधाैली नगरपालिका २० बेडकाे आइसोलेन तयार गरी संचालनमा ल्याएको छ ।