
सिन्धुली । सिन्धुलीमा वितेको चौविस घण्टामा काेराना संक्रमाणबाट ३ महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मरिण गाउँपालिका वडा नं. ४ की ५२ वर्षकी महिला, दुधौली नगरपालिका ११ की ९३ वर्षकी महिला र कमलामाई नगरपालिका ४ की ८२ वर्षकी महिला रहेका छन ।
मरिणकी महिलाको कपिलाकोट प्राथमिक स्वास्थ्य केन्द्रमा, दुधौलीकी महिलाको घरमै र कमलामाईकी महिलाको सिन्धुलीको कोभिड १९ अस्पतालमा लाने क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
दमको रोगी समेत रहेकी मरिणकी महिलाको जेठ ११ गते कोभिड १९ पोजेटिभ आएको थियो । दुधौलीकी महिलाको जेठ ३ गते र कमलामाईकी महिलाको जेठ १० गते कोरोना पोजेटिभ देखिएको थियो ।
मंगलबार ७ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन । उनीहरुसँगै जिल्लामा कोरोना जित्नेको संख्या १९० पुगेको छ ।
८४ जना नयाँ संक्रमित
त्यसैगरी सिन्धुलीमा ८४ जना नयाँ संक्रमित भेटिएका छन । संक्रमित हुनेमा कमलामाई, गोलञ्जोर गाउँपालिका, सुनकोशी गाउँपालिका, घ्याङ्लेख गाउँपालिका, तिनपाटन गाउँपालिका र मरिण गाउँपालिकाका व्यक्ति रहेका छन ।
जिल्लामा १७१ जनाको पिसिआर परिक्षण गरिएकोमा ८४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । यो सँगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या १ हजार २ सय २७ पुगेको छ ।