
सुनकोसी नदीको सिन्धुली क्षेत्रमा बाढीले बगाएर ल्याएको क्षेत्रमा एकै दिन ३ वटा शव फेला परेको छ ।
सुनकोसी गाउँपालिका र फिक्कल गाउँपालिकामा पर्ने सुनकोसी नदी किनारामा बुधबार शव फेला परेको प्रहरीले जनाएको छ ।
बेवारिसे अवस्थामा भेटिएका शवमध्ये दुई वटा पुरुषको र एउटा शवको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
सुनकोसी गाउँपालिका ५ मुलकोटमा एक पुरुष र सुनकोसी गाउँपालिकाकै ६ नम्बरमा अर्का एक पुरुषको शव फेला परेको डिएसपी मनोज कुमार लामाले सिन्धुली दर्पणलाई जानकारी दिए ।
डिएसपी लामाका अनुसार,उता फिक्कल गाउँपालिका ६ स्थित रत्नावतीमा पर्ने सोखु खोलाको दोभानस्थित सुनकोसी नदीमा पनि गडेको अवस्थामा एउटा शव फेला परेको छ।
नदीमा भेटिएका शवहरू बाढीले बगाएर ल्याएको हुनसक्ने डिएसपी लामाले आशंका गरे।