
नेपाली कांग्रेसले सिन्धुलीको फिक्कल गाउँपालिकामा एमाले ले सार्वजनिक जग्गा अतिक्रमण गरेर मदन-आश्रित प्रतिष्ठानको भवन निर्माण गरेकोमा आपत्ति जनाउँदै रोक्नको लागि माग गरेको थियो ।
गाउँ कार्यपालिकाको बैठकले एमाले लाई फिक्कल गाउँपालिका-४ खाङ्गसाङ्ग बेसीमा रहेको सार्वजनिक जग्गामा मदन-आश्रित प्रतिष्ठानको भवन बनाउन स्वीकृति दिएको थियो ।
एमालेले भवन निर्माण कार्य सुरुवात गरेपछि फिक्कल कांग्रेसले बदरको माग गर्दै बन्दै गरेको संरचना समेत भत्काउन माग राखेर जिल्ला प्रशासन कार्यालय समेतमा उजुरी दिएको थियो ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीको नेतृत्वमा मालपोत,नापी र डिभिजन वन कार्यालय सिन्धुलीका प्रतिनिधिहरुले स्थलगत अनुगमन समेत गरेका थिए । तर,उनीहरूले स्थलगत प्रतिवेदन समेत सार्वजनिक गरेका छैनन् ।
तर, नेकपा एमालेले मदन-आश्रित प्रतिष्ठानको भवन बनाउँदा स्थानीय सरकारको मिलेमतोमा सार्वजनिक भूमि अतिक्रमण गरेको आरोप लगाएको कांग्रेस आफै अहिले बिपी स्मृति प्रतिष्ठानको भवन बनाउन बजेट र जग्गा सहित माग्दै गाउँपालिका पुगेको छ ।
कांग्रेसले बिपी स्मृति प्रतिष्ठानको भवन निर्माणको लागि फिक्कल गाउँपालिका-४ सोखुटार स्थित कित्ता नं २ को पूर्वमा निर्माणाधीन आइसोलेसन पश्चिममा खाङ्गसाङ्गखोला उत्तरमा सुनकोशी नदी र दक्षिणमा मध्यपहडी लोक मार्ग चार किल्ला भित्रको जग्गा मागेको छ । भने उसले, गाउँपालिकाको विकास बजेट विनियोजन बाट बिपी स्मृति प्रतिष्ठानको भवन निर्माणको लागि माग गरेको छ।
अन्ततः एमालेले गरेको सरकारी सार्वजनिक जग्गाको अतिक्रमण रोक्न हिँडेको नाटक गर्ने कांग्रेस पुनः एमाले सँगै मिलेर अतिक्रमणमा सघाउने देखिन्छ ।